नमस्कार! हाम्रो वेभसाईट भिजिट गर्नु भएकोमा धन्यवाद!
काठमाडौँ । एनटी फाइबर विद्यार्थी अफर एकपटक मात्र प्रयोग गर्न पाइने
नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गरी ल्याएको एनटी फाइबर विद्यार्थी अफर एकपटकका लागि मात्र उपलब्ध हुने स्पष्ट पारेको छ। कम्पनीका अनुसार उक्त प्याकेजको अवधि सकिएपछि पुनः सोही अफर नवीकरण गर्न पाइँदैन। सेवा अवधि समाप्त भएपछि इन्टरनेट निरन्तर प्रयोग गर्न चाहने ग्राहकले टेलिकमका नियमित प्याकेजमध्ये कुनै एकमा अपग्रेड गर्नुपर्नेछ। यदि ग्राहकले सेवा निरन्तरता नचाहेमा जडानका क्रममा उपलब्ध गराइएको राउटर (सीपीई) अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। नेपाल टेलिकमका अनुसार विद्यार्थी अफरको आवेदन मिति आगामी माघ २२ गतेसम्म कायम गरिएको छ। यो सुविधा केवल विद्यार्थीहरूका लागि मात्र लागू हुनेछ। एनटी फाइबर अन्तर्गत सामान्यतया भ्वाइस, इन्टरनेट, एनटीटीभी (आईपीटीभी) तथा मोबाइल डेटा सेवा उपलब्ध भए पनि विद्यार्थी अफरमा भने इन्टरनेट सेवा मात्र समावेश गरिएको छ। यस अफर अन्तर्गत एक वर्षका लागि ३० एमबीपीएस गतिको इन्टरनेट सेवा प्रदान गरिनेछ, जसको शुल्क ४,९९९ रुपैयाँ तोकिएको छ। दैनिक २५ जीबीसम्म फेयर युज पोलिसी (FUP) लागू हुनेछ र सो सीमा नाघेपछि इन्टरनेट स्पिड ५ एमबीपीएसमा घटाइनेछ। जडानका लागि ५०० रुपैयाँ शुल्क लाग्नेछ। विद्यार्थीले यो प्याकेज लिँदा एक थान डुअल-ब्यान्ड सीपीई र अधिकतम १०० मिटर ड्रप फाइबर निःशुल्क पाउनेछन्। सेवा जडानका लागि १९८ नम्बरमा सम्पर्क गरी, टेलिकमको डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकम कार्यालयमा गई आवेदन दिन सकिनेछ। यो अफर २०५४ साल वा सोपछिको जन्म मिति भएका विद्यार्थीहरूका लागि मात्र लागू हुने टेलिकमले जनाएको छ। जन्म मिति स्पष्ट देखिने प्रमाणका रूपमा जन्म दर्ता प्रमाणपत्र वा नागरिकता पेश गर्नुपर्नेछ। साथै, विद्यार्थी परिचय पत्र पनि अनिवार्य गरिएको छ। नाबालिग विद्यार्थीको हकमा अभिभावकको नागरिकता, लाइसेन्स वा पासपोर्टको प्रतिलिपि बुझाउनुपर्ने व्यवस्था छ।
विज्ञान तथा प्रविधि
12/31/20251 min read